आइसिसी क्रिकेट विश्वकपको जन्मदाता इंग्ल्यान्डले तीन पटक फाइनलमा स्थान बनाए पनि उपाधि जित्न सकेको थिएन।

इंग्ल्यान्ड सन् १९७९को फाइनलमा वेस्ट इन्डिजसँग हारेको थियो।

१९८७ र १९९२ को फाइनलमा स्थान बनाए पनि इंग्ल्यान्ड उपविजेतामै सीमित बन्यो। इंग्ल्यान्डलाई १९८७ मा अस्ट्रेलिया र १९९२ मा पाकिस्तानले हराए।

सन् १९९६ मा क्वार्टरफाइनलबाट घर फर्किएको इंग्ल्यान्ड १९९९ मा त समूह चरणबाटै बाहिरियो। २००३ मा पनि इंग्ल्यान्ड प्रदर्शन खराब रह्यो। इंग्ल्यान्ड लगातार दोस्रो पटक समूह चरणबाट बाहिरियो।

सन् २००७ मा इंग्ल्यान्ड सुपर-८ बाट अघि बढ्न सकेन। २०११ मा श्रीलंकासँग क्वार्टरफाइनलमा पराजित हुँदा इंग्ल्यान्डको विश्वकप यात्रा निरन्तर खराब बन्न पुग्यो।

सन् २०१५ मा इंग्लिस टिम झनै कमजोर देखियो। समूह चरणबाट बाहिरिने क्रममा इंग्लिस टिमले ६ मध्ये ४ खेल गुमाएको थियो।

सन् २०१५ को लज्जास्पद हारपछि इंग्लिस टिममा परिवर्तन गर्न थालियो।

नयाँ अवधारणासहित इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डको निर्देशकमा पूर्वक्रिकेटर एन्ड्रिउ स्ट्राउसलाई नियुक्त गरियो।

जसको परिणामस्वरूप इंग्लिस टिम चार वर्षको अवधिमा नम्बर एक एकदिवसीय टिम बन्न सफल भयो।

सन् २०१९ को क्रिकेट विश्वकपको आयोजक इंग्ल्यान्डलाई प्रतियोगिताको दाबेदारको रूपमा लिइयो। किनकी औसत जित र औसत रन प्रहारमा इंग्लिस टिम अग्रपंक्तिमा थियो।

चार वर्षको मिहिनेत अन्तत: इंग्ल्यान्डले आइतबार पाएको छ।

४४ वर्षको इतिहासमा पहिलो पटक विश्वकप जितेको इंग्ल्यान्डले रोमाञ्चक फाइनल खेलमा न्युजिल्यान्डलाई पछि पार्‍यो। यससँगै उसले यसअघि खेलेका सबै फाइनल हारेको खराब इतिहास पनि तोडेको छ। यसअघिका तीन वटै फाइनलमा लक्ष्य पछ्याउने क्रममा पराजित भएको इंग्ल्यान्डले ‘रन चेज’ को खराब इतिहास पनि भंग गरेको छ।

विश्वकप क्रिकेटको ४४ वर्षको इतिहासमा इंग्ल्यान्ड नयाँ तथा छैटौं च्याम्पियन बन्न सफल भयो।

सन् १९७५ मा इंग्ल्यान्डबाट सुरु भएको विश्वकपको अस्ट्रेलियाले सर्वाधिक पाँच पटक (१९८७,१९९९, २००३, २००७ र २०१५) उपाधि जितेको छ। वेस्ट इन्डिज (१९७५ र १९७९) र भारत (१९८३ र २०११) २-२ पटक च्याम्पियन बनेका छन्। पाकिस्तान (१९९२) र श्रीलंका (१९९६) ले १-१ पटक उपाधि उचाल्ने अवसर पाएका छन्।

पछिल्लो चार वर्षमा इंग्लिस टिममा परिवर्तन ल्याउन मैदान बाहिरको गतिविधिले प्रभाव पार्‍यो। इंग्लिस क्रिकेटका पूर्व निर्देशक एन्ड्रिउ स्ट्राउसको अवधारणाले टिमलाई सशक्त बनायो।

कप्तान इयान मोर्गान र प्रशिक्षक त्रेभर बेलिसले खेलाडीलाई मैदानभित्र नयाँ खालको स्वतन्त्रता दिएका थिए। जसका कारण खेलाडीले खुलेर खेल्न पाए। खासगरि इंग्ल्यान्ड ब्याटिङ मजबुत बन्यो। सुरूआती चार खेलाडीको प्रदर्शन अब्बल देखियो। यद्यपी फाइनलमा उनीहरूले अपेक्षाअनुरुप खेल देखाउन सकेनन्। ओपनरद्वय जासन रोए र जोनी बायरस्टो आउट भएपछि जो रूट र इयान मोर्गानले पनि न्युजिल्यान्डको चुस्त बलिङसामू खुलेर खेल्न सकेनन्।

सुरूआती ब्याट्सम्यान चल्न नसकेपछि मध्यक्रमका बेन स्टोक्सले इंग्लिस इनिङ सम्हाले। जसले फाइनल खेल रोमाञ्चक बनेको थियो।

इंग्ल्यान्डका लागि युवा बलर जोफ्रा आर्चरको पनि प्रदर्शन पनि महत्वपूर्ण सावित भयो।

इंग्लिस टिमका सबैभन्दा कम अनुवभी खेलाडी भए पनि आर्चरले इंग्लिस बलिङ आक्रमणको नेतृत्व गरे। उनले इंग्ल्यान्डका लागि बढी विकेट लिने क्रममा २० वकेट हात पारे। विश्वकप २०१९ मा सर्वाधिक विकेट लिने खेलाडीमा उनी तेस्रो स्थानमा रहे। फाइनल खेलको सुपर ओभरमा उनको कसिलो बलिङले इंग्ल्यान्डलाई पहिलो पटक च्याम्पियन बनायो।

विश्वकपअघि इंग्लिस टिम आइसिसी वरीयतामा पहिलो स्थानमा थियो। सुरूआती खेलमा राम्रो खेल पनि बीचमा भने इंग्ल्यान्ड बाहिरिने खतरामा पुगेको थियो। श्रीलंका र अस्ट्रेलियासँग लिग चरणमा हार्दा इंग्ल्यान्डमाथि तीव्र दबाब परेको थियो।

तर त्यसपछि लगातार खेल जित्दै इंग्लिस टिम फाइनलमा पुग्न सफल भयो। खासगरी इंग्ल्यान्डले समूह चरणमा भारत र सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर आफू विश्वकपको दाबेदारको रूपमा प्रस्तुत गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here